रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

काठमाण्डु टुडे २०८३ साउन ८ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, ८ साउन– रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको हत्या गरीएको छ । रौतहटको गुजरा नगरपालिका– ५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनु देवी जयसवालको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान करिब १०:३० बजे बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल निवासी हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोल बस्ने अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रेनु देवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयवासीले आरोपी उपेन्द्रमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको कारण भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us