काठमाण्डू, ८ साउन– अभिनेता राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्ने बताएका छन ।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अभिनेता हमालले यस्तो बताएका हुन । उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको पनि बताए । समयसँगै सवारी साधनको सङ्ख्या अत्यधिक बढे पनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको भन्दै उनले प्रविधिको प्रयोगमा जोड दिएका छन ।
नागरिक र ट्राफिक प्रहरीबीचको सहकार्यबाट मात्रै सडक सुचारु हुने उनले जानकारी दिए । उनले भने, ‘समयसँगै सवारीसाधनको चाप अत्यधिक बढेको छ । तर त्यसअनुसार सडक तथा अन्य पूर्वाधार निर्माण हुन नसक्दा व्यवस्थापनमा चुनौती देखिएको छ, ‘त्यसैले समयसापेक्ष पूर्वाधार विकास र आधुनिक प्रविधिको प्रयोग गर्न सकिए सडक व्यवस्थापन अझ प्रभावकारी बन्ने थियो ।’
हमालले थपे, ‘ट्राफिक व्यवस्थापन सफल बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन। प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्छ।’ सडकमा देखिने अत्यधिक हतारो प्रवृत्तिको चर्चा गर्दै हमालले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको पनि बताएका छन ।
सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्ने यथार्थलाई बुझेर ‘पहिला म’ नभई ‘पहिला तपाईं’ भन्ने संस्कारको विकास गर्नुपर्ने उनले सुझाए । ‘हामी सडकमा प्रायः सबैलाई हतारमा देख्छौँ । यदि ‘पहिला म’ भन्ने सोचको सट्टा ‘पहिला तपाईं’ भन्ने संस्कार विकास गर्न सक्यौँ भने ट्राफिक व्यवस्थापन धेरै सहज हुनसक्छ,’ उनले भने, ‘यो केवल अर्को व्यक्तिलाई प्राथमिकता दिने कुरा होइन, पालो सबैको आउँछ ।
सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्छ, तर पालैपालो अघि बढ्दा सडक स्वतः व्यवस्थित हुन्छ ।’ सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उनले चुस्त व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भए पनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण उनले प्रस्तुत गरे ।
‘सडक व्यवस्थापनका लागि सडक चौडा बनाउनु मात्र समाधान होइन। विश्वका धेरै देशमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्,’ हमालले प्रस्ट्याए, ‘यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो । त्यसैले ट्राफिक व्यवस्थापनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सक्षम र चुस्त व्यवस्थापन नै हो।’