काठमाण्डू, ८ साउन– राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन् ।
उनी नेपाल सरकारका उपसचिव समेत हुन । ३ साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठमाण्डू जाने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेका थियो ।
स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।