पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

काठमाण्डु टुडे २०८१ भदौ २७ गते ९:२७ मा प्रकाशित

जुम्ला, २७ भदौ- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।

कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us