खाली वन क्षेत्रमा खेती गर्न दिने व्यवस्था गर्दैछौं: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन ।

आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले वन क्षेत्र भएपनि रुख विरुवा नभएका जग्गामा खेती गर्न दिने व्यवस्था गर्न लागिएको पनि बताएका छन । यसले राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जाने र देशमा आत्मर्भिरता बढ्ने पनि ओलीको दाबी छ ।

उनले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिँदै जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाउनुपर्ने पनि बताएका छन । प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययन हुनुपर्ने बताएका छन ।

सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने ओलीले बताए । मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्ञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन । उनले भने, ‘उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ । व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुपर्छ,’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us