एमाओवादीले सभासदलाई बाढीपहिरो प्रभावित क्षेत्रमा पठाउने

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– एकीकृत माओवादीले सभासदहरुलाई राहत तथा उद्धारका लागि बाढीपहिरो प्रभावित जिल्लाहरुमा पढाउने भएको छ ।

maoist-flag
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभासद र नेताहरुलाई राहत तथा उद्धार र क्षतिको विवरण संकलनका लागि प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको हो ।
बैठकपछि प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, राहत वितरण तथा उद्धारका लागि भए गरेका कार्यको विवरण संकलन गर्न सबै सभासदलाई जिल्ला पठाउने गरी कार्यविभाजन गरिएको उल्लेख छ ।

बाढी प्रभावित सिन्धुपाल्चोक, सुर्खेत, बर्दिया, बाँके, महोत्तरी, रौतहट, संखुवासभा, सिरहा, दाङ, सल्यान, रुकुम, कालीकोट, जाजरकोट, कैलाली, उदयपुर, सप्तरी, धनुषा, बाजुरा, दोलखा, ललितपुर, गोरखा, रोल्पा, सिन्धुली, सर्लाही, पर्सा, बारा, मोरङ रामेछाप र डडेल्धुरा जिल्लामा सभासद पठाउने पोखरेलले बताएका छन् । उद्धार तथा राहतकार्यको संयोजनको जिम्मेवारी पनि तोकिएको छ ।
पूर्वाञ्चलमा हरिबोल गजुरेल, मध्यमाञ्चल गिरिराजमणि पोखरेल र अग्निप्रसाद सापकोटा, पश्चिमाञ्चलमा टोपबहादुर रायमाझी र हितराज पाण्डे, मध्यपश्चिमाञ्चलमा कृष्णबहादुर महरा र जनार्दन शर्मा तथा सूदुरपश्चिमाञ्चमा शक्तिबहादुर बस्नेतलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us