काठमाण्डु, ४ भदौ– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट प्रभावितहरुको राहत र उद्धारकार्य तीव्र बनाउन माग गर्दै प्रधामन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ ।
एकीकृत माओवादी स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोक–२ का सभासद अग्नि सापकोटा नेतृत्वको टोलीले बुधबार बालुवाटारमा भेटी राहत र उद्धारमा ढिलाइ भइरहेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
सापकोटाले प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घाकालिन राहत र उद्धारका कार्यक्रम ल्याउन माग गरेको बताए । उनले पहिलो चरणमा पहिरोबाट विस्थापितलाई बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको उल्लेख गरे ।
यस्तै पहिरोले बगाएको अरनिको राजमार्ग सुचारु गराउन पनि माग गरिएको उनले जनाए । चीनसँगको एक मात्र व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग बन्द हुँदा दैनिक २ करोड राजश्व घाटा भइरहेको उनले जनाए । जवाफमा प्रधानमन्त्रीले छिट्टै राहत र पुनस्र्थापना कार्यक्रम घोषणा हुने प्रतिबद्धता जनाएको सापकोटाले बताए ।
‘हामीले असाधारण क्षति भएकाले तत्काल अल्पकालिन र दीर्घकालिन राहत र पुनस्र्थापनाको कार्यक्रम ल्याउन ध्यानाकर्षण गरायौं’, सापकोटाले भने, ‘प्रधानमन्त्रीले छिट्टै हुन्छ भन्नुभएको छ ।’