ओली र देउवासहित सत्ता पक्षको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ भदौ २४ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– सत्तारुढ काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

सत्तारुढ दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने तय भएको हो ।

प्रधानमन्त्री केपी ओलीको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा सरकारका कामको मूल्यांकन तथा सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम निर्माण गर्ने लगायत विषयमा छलफल हुनेछ ।

बैठकको गृहकार्यका लागि आइतबार कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच छलफल भएको थियो ।

उक्त छलफलले सरकारको न्यूनतम साझा कार्यक्रम लेखनका लागि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, डा. प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सम्मिलित कार्यदल बनाउने सहमति दुई दलबीच भएको थियो ।

कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिनेबारे आजको बैठकमा छलफल हुनेछ । काँग्रेस–एमालेबीच गत १७ असारको मध्यरातमा एक व्यवसायीको घरमा वर्तमान सत्ता गठबन्धन निर्माणसम्बन्धी ७ बुँदे सहमति भएको थियो ।

सहमतिअनुसार एमाले अध्यक्ष ओली गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us