शक्ति केन्द्र धाउने प्रहरीमाथि कारबाहीको तयारी

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १८:५८ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– नेपाल प्रहरीले राजनीतिक व्यक्ति तथा शक्तिकेन्द्रसँगको भेटघाटमा कडाई गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार मातहत कार्यालयमा परिपत्र गर्दै उच्च अधिकारीको अनुमतिबिना घेटघाट नगर्न निर्देशन दिएको हो । त्यस्ता भेटघाट गर्नुपरेमा प्रयोजन खुलाई पूर्वस्वीकृति लिनुपर्ने सर्कुलरमा उल्लेख छ ।

परिपत्रमा तालुक कार्यालयको स्वीकृतिबिना कर्तव्य पालनाको सिलसिलामा बाहेक अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गर्न नपाउने उल्लेख छ । निर्देशनविपरीत त्यस्तो भेटघाट गरेका पाइए अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी प्रधान कार्यालयले दिएको छ ।

‘व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनै पनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहे भएको पाइएमा त्यसलाई नै प्रमाणका रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयंगम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ सर्कुलरमा भनिएको छ । सरुवा र बढुवा लगायतमा राजनीतिक प्रभावका लागि प्रहरी अधिकृतहरुको दौडधुप हुने गरेको छ ।

विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि सर्कुलरमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us