काठमाण्डु, २३ भदौ– नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पत्र पठाएका छन ।
निगमका जहाज ग्राउण्डेड भएको, निजी कम्पनीहरू नाफामा चल्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स धराशायी भएको, नियमित उडान गराउन नसकेको, सी चेक नगरी उडाएको लगायत प्रश्न गर्दै पर्यटनमन्त्री बद्री पाण्डेले अधिकारीलाई गत भदौ १२ गते स्पष्टीकरण सोधेको थिए ।
अधिकारीले यसबारे मन्त्रालयलाई पठाएको जवाफमा नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज भएको जवाफ पठाएका छन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको तर खरिद प्रक्रिया सोस्तरको नभएकाले निगम प्रतिस्पर्धी बजारमा कमजोर रहेको जवाफमा उल्लेख गरीएको छ ।
यसका लागि सरकारले खरिद विनियमावली सच्याउनुपर्ने आवश्यक रहेको अधिकारीको जवाफमा उल्लेख छ । सी चेकमा लामो समय लाग्ने, अतिरिक्त नियमित प्राविधिक समस्या आउने र मर्मत सम्भारका लागि आवश्यक पार्टपुर्जा किन्ने प्रक्रियागत झन्झटले नियमित उडानमा समस्या हुने गरेको अधिकारीको जवाफ बताइएको छ ।
निगमको ऋण तिर्न महँगो ब्याज तिनुपर्दा पनि एयरलाइन्स घाटामा गएको उनले बताएका छन । नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङमा गरेको सेवा शुल्क कटौतीले पनि आम्दानी घटाएको उनको जवाफ छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनिवार्य गर्दा आम्दानी घटेको अधिकारीको भनाइ छ ।
जवाफमा भनिएको छ, ‘गौतमबुद्धको उडानले गर्दा काठमाडौँ–दिल्ली–काठमाण्डु सेक्टरको उडान रद्द गर्नुपरेको र यसले आम्दानी गुमाउनुका साथै गलत सन्देश प्रवाह गरेको छ ।’
पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्याण्डलिङमा गरिएको लगानी तथा त्यहाँ राज्यले अरु कम्पनीलाई दिएको छुटले पनि आम्दानी घटाएको जवाफमा उल्लेख गरिएको छ । त्यसका साथै कोरोना महामारीको कारणले उडानमा भएको कमीले आम्दानी घटेको अधिकारीले जवाफमा उल्लेख गरेका छन ।