काठमाण्डु, ४ भदौ– पूर्वप्रधानसेनापति रुक्माङगद कटवालको आत्मकथाको चर्चा सेलाएको छैन ।
उनले आत्मकथामा माओवादी शान्ति प्रक्रियामा आएदेखि आफूलाई प्रचण्डको नेतृत्वको तत्कालिन सरकारले गरेको बर्खास्ती र राष्ट्रपतिले गरेको थमौतीबारे पुस्तकमा चर्चा गरेका छन् । कटवालले आत्मवृत्तान्तमा माओवादीलाई सैनिक मञ्च टुँडिखेलमा परेड खेल्न रोकेको सगर्व उल्लेख गरेका छन् । तर उनले त्यसको केही समयअघि मात्र माओवादीले सैनिक मञ्चमा परेड खेलेको विषय भने कतै उल्लेख गरेका छैनन् ।
कटवालले प्रचण्डले पहिलो सार्वजनकि भाषण गर्दाको बेलाको कुरा लेखेका छन् । तर त्यसअघि नै कृष्णबहादुर महराले खुलामञ्चमा भाषण गर्दाको चर्चा उनले कतै गरेका छन् । जतिबेला माओवादी कार्यकर्ता र समर्थकले सैनिक मञ्च ढपक्कै ढाकेका थिए ।
उनले सैनिक मञ्चमा माओवादी झण्डा फहराउन नदिएको दाबी गरेका छन् । तर त्यतिबेलाको तस्वीरमा सैनिक मञ्च वरपर हंसिया–हथौडा अंकित झण्डा फहराएको देखिन्छ । उनले माओवादीले टुँडिलेख कब्जा गर्न खोजेको दाबी गरेका छन्, तर तस्वीरमा हेर्दा देखिन्छ कि स्वयम सेवक लेखिएको रातो टिसर्ट लगाएका माओवादी कार्यकर्ताले सैनिकमञ्चमा चढ्न खोज्ने सर्वसाधारणलाई रोकेका छन् ।
महराले भाषण गरिरहेका बेला कार्यकर्ता उत्तेजित भएर सैनिक मञ्चमा उक्लन खोजेका बेला महरालाई बीचैमा रोकेर तत्कालिन अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले भनेका थिए, ‘साथीहरु कमरेड महरा वार्ताको छेबलबाटै सत्ता कब्जा गर्न काठमाण्डु आउनुभएको छ । तपाईंहरु संयम हुनुहोला, हाम्रो सानो कमजोरी पाउने बित्तिकै प्रतिक्रियावादीहरु उत्तेजित भएर वार्ताको टेवलबाट सत्ता कब्जा गर्न रोक्ने वाला छन् ।’ न्यौपानेले यसो भनेपछि कार्यकर्ता शान्त भएका थिए ।
कटवालले पुस्तकमा भनेका छन्, ‘आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी माओवादीको रहेछ । माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सह्य हुन्थ्यो र ? सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिने माओवादी नियत मैले बुझेको थिएँ । यसमा सेनाको मनोबल घटाउने अभीष्ट लुकेको थियो ।
‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन’, मैले आफ्नो निर्णय प्रधानमन्त्रीलाई सुनाइदिएँ, ‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ ।’

माओवादी दूत बनेर अनुमति माग्न आउनेलाई मेरो जवाफ हुन्थ्यो, ‘सैनिक मञ्च हाम्रो छाती हो । त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशिन गनले भुटिदिन्छु ।’ यदि कटवालले भनेजस्तो माओवादीले त्यतिबेलै टुँडखेल कब्जा गर्न खोजेका थिए भने न्यौपानेले त्यसरी किन रोकका थिए त ?
त्यतिबेला कटवाल प्रधानसेनापति थिएनन् । तर उनले आफूलाई प्रधानसेनापतिकै दर्जामा राखेर कुरा गरेका छन् ? के कटवालले सेनाको चेनअफ कमाण्ड नाघेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई टेलिफोन गरेकै थिए त ? माओवादीले अघिल्लैपटक टुँडिखेलमा परेड खेल्दा र सैनिकमञ्च रातै झण्डाले रङगिंदा चाहिं कटवाल सेनामा थिए कि कहाँ थिए कुन्नी ?