काठमाण्डु, ४ भदौ– प्रहरी कारबाहीमा मारिएका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का सहयोगी ‘डार्लिङ’ उपनामले चिनिने अजयकुमार कार्की
पक्राउ परेका छन् ।
२३ वर्षीय डार्लिङले चरीको प्रमुख सहयोगीका रुपमा काम गर्दै आएका थिए । मकवानपुरका स्थायी बासिन्दा उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए । अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले डार्लिङमाथि छानबिन भइरहेको बताए ।
‘उसलाई दुई दिनअघि पक्राउ गरिएको हो’, कार्कीले भने, ‘हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’ कार्कीका अनुसार डार्लिङमाथि हत्या, लुटपाट, हप्ता असुलीलगायत दर्जनौं अभियोग छन् ।
२०७० साल पुस १४ गते चरी र डार्लिङले काठमाण्डुको बनस्थलीमा अर्का गुण्डा नाइके राधे भण्डारीमाथि खुकुरी गरेका थिए ।
चरीको गत २१ साउनमा दादिङको सीमा क्षेत्र काठमाण्डुको भीमढुंगामा प्रहरीसँगको कारबाहीमा मारिएपछि प्रहरीले उनका नजिकका व्यक्तिहरुको खोजी गरिरहेको छ ।