भारतबाट इबोला छिर्न नदिन गड्डाचौकीमा उच्च सतर्कता

काठमाण्डु टुडे २०७१ भदौ ४ गते २:५१ मा प्रकाशित

कञ्चनपुर, ४ भदौ– दक्षिण छिमेकी भारतमा इबोला भाइरस देखिएपछि सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकीमा सतर्कता अपनाइएको छ ।

भौगोलिक दूरीका हिसाबले गड्डाचौकीबाट भारतको राजधानी दिल्ली ३३१ किलोमिटर मात्रै टाढा छ । दिल्लीमा पनि इबोलाको भाइरस देखिएको खबर आएपछि गड्डाचौकी नाकामा अध्यागन कार्यालयमार्फत विशेष सतर्कता अपनाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए ।
घिमिरेले गड्डाचौकीस्थित अध्यागमन कार्यालयलाई पत्राचार गरी इबोलाबारे सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिए ।

उनले पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विशेष गरी अफ्रिकन मुलुकका नागरिकमाथि निगरानी बढाउन निर्देशन दिइएको जनाए ।

साथै इबोला भाइरस देखिएका अफ्रिकन मुलुकका नागरिकलाई नेपाल भित्रिन भिसा दिनुपूर्व सतर्कता अपनाउने र शङ्का लागे महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाउने निर्देशन आएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अध्यागमन सहायक शेखरनाथ ओझाले बताए ।
उनले कार्यालयको निर्देशनअनुसार आजदेखि उक्त रोगबारे सीमानाकामा सचेतना दिने काम थालिसकेको बताए ।
इबोलाबारे सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको एक टोली गड्डाचौकीमा खटाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us