काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको दाबी गरेका छन ।
आज आइतबार पार्टीको पूर्ण कमिटीको बैठकमा बोल्दै नेता खनालले यस्तो बताएका हुन । उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएको दाबी गरेका हुन् । उनले भने, ‘विश्व परिस्थिति सङ्गिन ढङ्ग बढिरहेको छ ।
साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् । समाजवादी शक्ति जति शक्तिशाली हुँदै जान्छन्, त्यस्ता शक्तिहरू त्यति नै डराउँछन् ।’ ‘त्यही भएर उनीहरूले युक्रेन युद्धको सुरुवात गरे ।
युक्रेनमा रुसले आक्रमण गरेकोभन्दा पनि युक्रेनलाई प्रयोग गरेर साम्राज्यवादीहरूले रुसकाविरुद्ध षडयन्त्र सुरु गरे । रुसलाई त्यहाँ सैनिक कारबाही गर्न बाध्य बनाइयो, ‘युक्रेनलाई युद्ध मैदान बनाए ।
यो युद्ध एक कदम अगाडि बढ्यो भनेर विश्वयुद्ध सुरु हुन्छ भन्ने त्राससमेत फैलिन थालेको छ । यता मध्यपूर्वमा पनि युद्ध चर्केको छ ।’ उनले विद्रोह गरेर यो पार्टी स्थापना गरेको ३ वर्ष पुगेर चौथो वर्षमा प्रवेश गरेको उनले जानकारी दिएका छन ।
उनले तीन वर्ष सजिला वर्षहरू नरहेको पनि जिकिर गरे । उनले भने, ‘उतारचढावहरूका साथमा यो पार्टीलाई गठन गर्ने, विकास गर्ने तथा विस्तार गर्ने र पार्टीका वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रूपमा अघि बढाउन काममा हामी निरन्तर लाग्दै आयौँ ।’
खनालले पार्टीबारे अनेक प्रकारका वैचारिक आक्रमण भइरहे पनि तथा प्रतिक्रियावादीहरूका अनेक षडयन्त्रहरू भए पनि ती सबै कुराहरूलाई चिर्दै, तिनीहरूको प्रतिकार गर्दै पार्टी लगातार अघि बढ्दै आइरहेको दाबी गरेका छन । १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुनु भनेको पार्टीको ऐतिहासिक सफलता भएको उनले बताए ।