अब महाधिवेशन अघिका सबै नकारात्मक कुरा अन्त्य गरौँ: महासचिव भुसाल

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहणसँगै दशौँ महाधिवेशनको सम्पूर्ण काम सकिएको बताएका छन ।

भुसालले आज आजदेखि पार्टीको पाँच वर्षको क्रान्तिकारी यात्रा सुरु भएको पनि बताएका छन । उनले केन्द्रीय समितिको पूर्ण बैठकलाई ‘कटअफ डेट’ का रूपमा मान्दै महाधिवेशन अघिका सबै नकारात्मक कुराहरूलाई आजदेखि अन्त्य गर्नुपर्ने बताएका छन । उनले भने, ‘किनभने अब हामी यो मुलुकको क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हौँ ।’

महाधिवेशनले अत्यन्त विश्वासका साथ आजको परिस्थितिको विश्लेषण गरेर, चुनौतीहरूको विश्लेषण गरेर, प्रतिनिधिहरूले असाध्य उत्साहित भएर सम्पूर्ण प्रतिबद्धताका साथ महाधिवेशनको हलको सामूहिक बुद्धिले हामीलाई यो प्रक्रियामा पठाएको थियो । र, सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको समेत निर्वाचन गर्नका लागि म्यान्डेट दिएको थियो ।’

उनले थपे, ‘जुनसुकै प्रक्रियामा जाँदा केही टिप्पणी, केही गुनासा र केही कमजोरीहरू रहन सक्छन् । तर, यसले जुन म्यान्डेट दिएको थियो, सहमतिका लागि, सर्वसम्मतिका लागि, मूलभूत रूपमा यो सम्पन्न भएको छ । सफलताका साथ सम्पन्न भएको छ । महाधिवेशन पूर्ण भएको छ ।’ उनले एउटा विद्रोही सधैँ विद्रोही नरहने पनि स्पष्ट पारेका छन ।

उनले हिजो भएका कमजोरीहरूलाई पनि अन्त्य गर्नुपर्नेमा पनि बताएका छन । उनले थपे, ‘हिजो विद्रोहीका रूपमा हामीबाट केही कमी कमजोरी भएका थिए, आवेग वा विभिन्न कारणले, ‘एउटा विद्रोही सधैँ विद्रोही रहन सक्दैन ।

किनभने विद्रोह एउटा उद्देश्यले गरिएको हुन्छ । एउटा व्यवस्थाले काम नगरेपछि, त्यो व्यवस्थालाई ध्वस्त पारेर अर्को नयाँ व्यवस्थाका लागि अघि बढेको हुन्छ ।

हरेक क्रान्तिकारी विद्रोहीको दिमागमा विद्रोहको सङ्कल्प हुन्छ र जसको आँखामा हिजोको भन्दा नयाँ र राम्रो व्यवस्थाको खाका हुन्छ । हामी त्यो विद्रोही हौँ भनेर हामीले साबित गर्नुपर्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us