काठमाण्डु, ९ भदौ– सुनकोशी नदीमा खसेको गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो ।
उक्त गाडी अहिले नदी किनारमा राखिएको हो । शनिबार खोटाङको हलेसीबाट भक्तपुर आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकबाट सुनकोशी नदीमा खसेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा सवार चारमध्ये एक जनाले हामफालेर ज्यान जोगाएका थिए । डिएसपी खड्काका अनुसार गाडीबाट हामफालेका भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कपाली घाइते छन् ।
उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ। अन्य तीन जना भने बेपत्ता भएका छन । बेपत्ता हुनेहरूमा जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा छन् ।
उनीहरूको खोजीका लागि २७ जना नेपाल प्रहरी, गोताखोरसहित १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको थियो । शनिबार बिहान २ बजेसम्म खोजी गर्दा गाडी भेटिएपनि यात्रुहरू नभेटिएको डिएसपी खड्काले जानकारी दिएका छन ।
उनीहरूको खोजी आज पुनः सुरू गर्न लागिएको उनले बताए। गाडी रहेको स्थान पत्ता लागेपछि गोताखोर टोलीले फलामको डोरी लगेर गाडीमा बाँधेर नदीबाहिर निकालिएको थियो ।