म्याग्दी, ९ भदौ– म्याग्दीमा वर्षासँगै आएको बाढीले गाडी बगाएको छ ।
बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्सामा आएको बाढीले ग२च ९३५५ नम्बरको बोलेरो जिप बगाएको हो ।
प्रहरीका अनुसार यात्रु र चालकले भागेर ज्यान बचाएका छन् । जिप पोखराबाट बेनीतर्फ आउँदै थियो ।
शनिबार रातिको वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएका छन् । बाढीले विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । बेनी–९ स्थित जडभरत संस्कृत माध्यमिक विद्यालयको कक्षाकोठा बाढीले पुरिएको छ ।
बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध भएको छ ।
बाढीले सडक सडक भत्किँदा सदरमुकाम बेनी ग्रामीण क्षेत्रका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगको यातायात सम्पर्कविच्छेद भएको छ ।