काठमाण्डु, ८ भदौ– प्रधानमन्त्री केपी ओलीले आफूले महिलालाई प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफू छिट्टै महिलालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए । यद्यपि त्यसका लागि केही तयार गर्नुपर्ने उनको भनाइ थियो ।
समय तोक्न गाह्रो भए पनि छिट्टै महिलालाई प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको ओलीले उल्लेख गरे । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेस नेतृ आरजु राणा देउवामध्ये कसलाई प्रधानमन्त्री बनाउने तयारी गरेको भन्नेबारे खुलाएनन् । दुई कार्यकाल राष्ट्रपति भएर अवकाश लिएकी भण्डारी पछिल्लो समय मदन भण्डारी फाउण्डेशनको कभरमा एमाले राजीतिमा सक्रिय छिन् ।
उनले केही महिनाअघि मात्र एमालेको पार्टी सदस्यता नवीकरण गरेको समाचारहरु आएका थिए । एमालेले आयोजना गरेका विभिन्न कार्यक्रममा उनी सहभागी हुँदै आएकी छन् । भण्डारीलाई एमालेमा ओलीको उत्तराधिकारीका रुपमा हेर्ने गरिएको छ । तर, प्रतिनिधिसभा सदस्य नरहेकी भण्डारीलाई कम्तिमा संसदको यो कार्यकालभित्र प्रधानमन्त्री बनाउन सम्भव छैन ।
ओलीले दुई वर्षपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने समझदारीमा हस्ताक्षर गरेका छन् । राजनीतिक बजारमा ओलीपछि देउवा पत्नी आरजु राणा देउवा प्रधानमन्त्री बन्ने चर्चा पनि चलेको छ । गत महिना एक सार्वजनिक कार्यक्रममा काँग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालमा अब महिला प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । ओलीले देउवाको ठाउँमा आरजुलाई प्रधानमन्त्री बनाउन चाहेको हुन् वा होइनन् भन्ने स्पष्ट भएन ।
‘म महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु । तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, ओलीले भने, ‘छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु ।’ ओलीले आफू प्रधानमन्त्री भएकै समयमा महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख भएको बताए । त्यसका लागि आफू सौभाग्यहशाली रहेको जिकिर उनले गरे ।
आफू सधैं महिलाको हितमा सक्रिय रहेको दाबी पनि ओलीले गरे । ओलीले पहिलो महिला रक्षामन्त्री पनि आफैंले बनाएको बताए । सुशील कोइराला प्रधानमन्त्री भएका बेला तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारी रक्षामन्त्री थिइन् ।
यस्तै ओलीले आफ्नै मन्त्रिपरिषदले महिलालाई मुख्यसचिव नियुक्त गरेको पनि उल्लेख गरे । ‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, ओलीले भने ।
ओलीले आफ्नो विदेश भ्रमणको टोलीमा महिला अनिर्वाय गरेको समेत भन्न भ्याए । ओलीले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुमा आफ्नो प्रमुख भूमिका रहेको जिकिर उनको थियो ।