काठमाण्डु आइपुगिन् भारतीय राज्यमन्त्री खडसे

काठमाण्डु टुडे २०८१ भदौ ८ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाण्डु आइपुगेकी छन् ।

शुक्रबार तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन र घाइतेहरुको अवस्था बुझ्न प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खडसे नेपाल आएकी हुन् ।

भारतीय पर्यटक सवार यूपी५३एफटी७६२३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

अरु १६ जना घाइते भएका छन् । बसमा सवार सबै भारतको महाराष्ट्र प्रदेशस्थित जलगाउँ जिल्लाका बासिन्दा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मृतकहरुको चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।

पोष्टमार्टमपछि शव सम्बन्धित पक्षलाई बुझाउने तयारी छ । घाइते १६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी त्रिवी शिक्षण अस्पतालमा ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us