संसदीय समितिमा रवि लामिछानेको बयानः गोरखा मिडियामा पैसा कहाँबाट आयो भन्नेबारे जिबी राईलाई सोध्नुपर्छ

काठमाण्डु टुडे २०८१ भदौ ७ गते २०:२८ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– रास्वपा सभापति रवि लामिछानेले सहकारी हिनामिना सम्बन्धमा छानबिन गर्न गठित संसदस्य समितिमा बयान दिएका छन् ।
लामिछानले शुक्रबार सिंहदरबार पुगेर समितिमा बयान दिएका हुन् । पूर्वगृहमन्त्री र प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । उक्त नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लामिछानेले ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम सञ्चालन गर्थे । कम्पनीमा उनको १५ प्रतिशत सेयर रहेको उनैले स्वीकार गरिसेकका छन् । यद्यपि उनले त्यसलाई काम गरेबापत स्वेट सेयर पाएको बताउँदै आएका छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाण्डुको स्वर्णलक्ष्मी सहकारीबाट सर्वसाधारण बचतकर्ताको करोडौं रकम गोरखा मिडियामा सारिएको पुष्टि यसअघि नै भएको छ । समितिमा सांसदहरुले सहकारीको रकम मिडियामा ल्याउनुको कारणबारे लामिछानेसँग सोधपुछ गरेका छन् । जवाफमा लामिछानेले त्यसबारे आफूलाई केही थाहा नभएको बताए । हाल फरार रहेका गोरखा मिडियाका अध्यक्ष जिबी राई उक्त प्रकरणको जिम्मेवार रहेको उनको भनाइ थियो । समिति सभापति सूर्य थापाले लामिछानेसँग ५० वटा प्रश्न सोधिएको बताए । ‘गोर्खा मिडियाको आर्थिक व्यवस्थापनको पाटो मैले हेरको होइन । त्यस कारण कहाँबाट पैसा आयो र कसरी आयो भन्ने मलाई थाहा हुने कुरा भएन । यसको बारेमा जिबी राईलाई नै थाहा होला’, लामिछानेको जवाफ उर्दत गर्दै एक समिति सदस्यले भने । सभापति थापाका अनुसार लामिछानेले आफ्नो नाममा सहकारीबाट गोरखा मिडियाका लागि ऋण लिइएको छ भन्ने विषयमा धेरै पछि मात्र जानकारी पाएको दाबी गरेका छन् । उनले ऋण लिन आफूले कुनै फाराम नभरेको तथा हस्ताक्षर नगरेको तथा नागरिकता दुरुपयोग गरिएको बताएका छन् ।
यसअघि शुक्रबारै समितिले गोरखमा मिडिया नेटवर्कका तत्कालीन पूर्वसंचालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसँग सोधपुछ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us