बाँके, ७ भदौ–काँग्रेस कार्यकर्ताले नेपालगञ्जमा एमाले स्थानीय नेताविरुद्ध प्रदर्शन गरेका छन् ।
कांग्रेस भ्रातृ संगठन नेपाल तरूण दलले एमाले सम्वद्ध युवासंघका जिल्ला अध्यक्ष एवं राप्ती सोनारी गाउँपालिका–२ का अध्यक्ष ज्ञानेन्द्रराज ओलीविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले वडाअध्यक्ष ओलीको तस्बिर अंकित व्यानर बोकेका थिए । राप्ती–५ बिनौना चोकमा गत शनिबार अज्ञात समूहले राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि धारिलो हतियार प्रहार गरेको थियो । घटनामा गम्भीर घाइते उनीहरुको भारतीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वडाअध्यक्ष ओलीसहित चार जनालाई केही दिनअघि पक्राउ गरेको छ । घाइते विष्टकी पत्नी चेतना पुरीले ओलीसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा बाँके प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
तरुण दल बाँके अध्यक्ष वीरेन्द्रबहादुर शाह नेतृत्वको टोलीले प्रदर्शकारीले घटनाका दोषीमाथि कारबाही माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
एसपी तुलबहादुर कार्कीले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।