कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः सुरु भएको हो ।

अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेन्डाका अतिरिक्त परिमार्जनसहित पेस भएका महासमिति बैठकका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरू बताएका छन ।

एक पदाधिकारीले भने, ‘महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल नभइ बैठक सुरू भएको छ । आज सबै पदाधिकारी बोल्ने छन् तर आजै निर्णय आउने सम्भावना कम छ ।’

विवाद मिलाउने भन्दै साउन २८ गतेबाट बैठक स्थगन गरेर सहमति जुटाउने भनिएको थियो । तर, पदाधिकारी तहमा छलफल नभइ बैठक सुरू भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us