काठमाण्डु, ७ भदौ– केपी ओली नेतृत्वको सरकारले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताको कार्यान्वयन सुरु गरेको छ ।
सरकारको विशेष पहलमा चीनले बीआरआई परियोजनाको अंगका रुपमा चक्रपथ विस्तारको बाँकी काम अघि बढाउने भएको हो ।
काठमाण्डु चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक बीआर आई परियोजनाअन्तर्गत अघि बढाउने सहमति भएको नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत राजदूत सोङ्गले उक्त सडकखण्ड बीआरआई अन्तर्गत बनाउने जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच चीन र नेपालबीच विभिन्न चार परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
चारमध्ये एउटा चक्रपथको बाँकी खण्ड निर्माणसम्बन्धी सम्झौता पनि छ । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल भ्रमणमा रहेका चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का
उपाध्यक्ष याङ वेईकुन र नेपालका लागि चिनियाँ राजदूत सोङ्ग लगायत उपस्थित थिए । उपाध्यक्ष याङले बिहीबारै प्रधानमन्त्री केपी ओलीसँग भेटेका थिए । त्यस क्रममा ओलीले बीआरआई परियोजना अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।