काठमाण्डु, ७ भदौ- भदौ महिना लागेसंगै मनसुनी वायुको प्रभावमा देशभरी दैनिक रुपमा वर्षा भइरहेको छ ।
यस्तो हुनुमा मनसुनको न्यूनचापीय रेखा शुक्रबार पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपालनजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा पूर्वमा नेपालनजिक रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रही शुक्रबार बिहान कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कोशी र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम र केही स्थानहरुमा भिषण वर्षा हुनुका साथै बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।