काठमाण्डु, ६ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रियो, छलफल गरौं भन्न पनि किन नपाउने भन्दै बैठकमा प्रतिप्रश्न गरेका छन ।
बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा ८२ जना नेताहरूले राखेका धारणालाई बिहीबार सम्बोधन गर्दै उपमहासचिव शर्माले प्रतिप्रश्न गरेका हुन ।
उनले आफूले पार्टीभित्र भिन्न मत राखेको नभई आफ्नो मत राखेको प्रष्टीकरण दिएका छन । बागमती प्रदेश अन्तर्गतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी बैठकमा उनले पार्टीका समस्या र निर्माणका कुरा लिखित रूपमा राख्दा आफूलाई पार्टी फुटाउन लागेको प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेका छन ।
उपमहासचिव शर्माले भने, ‘मैले पार्टी फुटाउँछु भन्ने लागेकै छ भने म के गरौं रु भगवान गुहारौं कि प्रचण्ड गुहारौं, ‘म बोल्दै नबोली ठुस्केर बसेर पार्टी एकताबद्ध हुन्छ भने म चुप लागौंला तर, मलाई लाग्छ आफ्नो कुरा जोडदार राखेर मात्रै पार्टी एकताबद्ध हुन्छ ।’
पार्टीका अधिकांश नेताले फरक मत राखेको भन्दै शर्माको चर्को आलोचना गरेका थिए । त्यसको प्रतिउत्तरमा उपमहासचिव शर्माले प्रतिप्रश्न गरे, ‘विचार निर्माणमा अध्यक्ष लाग्नुपर्यो । अन्य काममा हामी लाग्छौं भन्न किन नपाउनु ?’