मधेस सरकारको विरोधमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

काठमाण्डु टुडे २०८१ साउन २८ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २८ साउन– मधेसमा जम्बो मन्त्रीमण्डल विस्तार गरेको विरोधमा जनकपुरमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ ।

जसपा नेपाल निकट विद्यार्थीहरूले सोमबार निकालेको सिटी जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको प्रहरीले जानकारी दिएको छ ।

सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद भएको प्रहरीले जनाएको छ । जनकपुरको भानु चोकबाट निकालिएको सिटी जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको मूल गेटसम्म पुगेको समाजवादी युवा संघ जनकपुरले जनाएको छ ।

मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दा घम्साघम्सी भएको सङ्घका धनुषा जिल्ला अध्यक्ष दिपु कापरले जानकानरी दिएका छन । जनमत नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै विद्यार्थीहरूको जुलुस सुरक्षा घेरा तोड्दै रेल्वे लिकसम्म पुगेको थियो ।

मधेस सरकार सङ्घीयता विरोधी गतिविधिमा लागेको भन्दै सो सङ्गठनले चरणबद्ध आन्दोलनको घोषणा गरेको उनले जानकारी दिएका छन । प्रदेश सरकारले एक साता अगाडि ८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको थियो ।

जम्बो मन्त्रीमण्डल विस्तार गरिएपछि पछिल्लो समय चर्को आलोचना भइरहेको छ । यसअघि जसपा नेपाल निकट विद्यार्थीहरूले कुर्सी जुलुस समेत निकालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us