कांग्रेस बैठकमा विनोद चौधरीले सोधेः निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ?

काठमाण्डु टुडे २०८१ साउन २८ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, २८ साउन– कांग्रेस केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश भएको बताएका छन । उनले ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा निजी क्षेत्रसँग रहेको भन्दै उनले लगानीकर्ता अहिले निराश र त्रसित रहेको बताएका छन ।

पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेको बताएका छन ।पार्टी नेतृत्वसँग उनले प्रश्न गरे, ‘निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो रु कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ ।’ उद्योगपति चौधरीले मुलुकको राजश्व र निर्यात घटेको जानकारी पार्टी बैठकमा गराए ।

‘उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको कुरालाई प्रष्टसँग देखाउँछ । घट्दो राजश्व त्यसैको नियति हो’, चौधरीले भने, ‘अझै पनि हामीले यो कुरालाई गम्भीर रुपमा लिएर हाम्रा राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साँटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको पाउँछु ।’

नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशा पलाएको पनि बताएका छन । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार अगाडि बढ्यो र अन्तरविरोध हटाउन सक्यो भने मुलुकका लागि खुशीको कुरा हुनेको दाबी छ ।

कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको चौधरीले बताए । कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको चौधरीले बताएका छन ।

उनले भने, ‘हाम्रा पार्टीका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले उतिबेला भन्नुभएको उत्पादन बिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा यति बेला प्रमाणित भइसकेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us