परराष्ट्र मन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ साउन २८ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, २८ साउन–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ ।

मन्त्रालयमा सोमबार भएको सो भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन् ।

मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् ।

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसङ्ग पनि उठाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us