सहकारी छानबिन विशेष समितिले रवि लामिछानेलाई सोधपुछ गर्ने

काठमाण्डु टुडे २०८१ साउन १५ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १४ साउन– सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ ।

लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन ।

उनले भने, ‘गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ, ‘यो स्वाभाविक हो ।’उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताएका छन ।

उनले थपे, ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ ।’ लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ ।

ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ । लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि समय तय भैनसकेको समितिका एक सदस्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us