अहिले कांग्रेस र एमालेको टार्गेटमा रास्वपा परेको: सभापति लामिछाने

काठमाण्डु टुडे २०८१ साउन १४ गते १६:३७ मा प्रकाशित

 

काठमाण्डु, १४ साउन– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताएका छन ।

उनले भने, ‘सरकारमा रहेका दुई ठुला दलको टार्गेट राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अव यी नयाँलाई ठिक पार्नुपर्छ, ‘एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट हुन्छ ।’

उनले नेताहरूका यस्तै अभिव्यक्ति र संसदमा भइरहेको पछिल्ला गतिविधिहरूले अव मुलुकका लागि रास्वपा नै देशको विकल्प हो भन्ने कुरा स्पष्ट भएको बताएका छन । उनले भने, ‘होलीवाइनको त्यो डक्ट्रिन के हो रु एकपटक सोध्न मन छ । मध्यरातमा खुफिया एजेन्सी भेट्ने त्यो डक्ट्रिन के हो त्यो पनि जान्न मन छ ।

कुनै बिचौलियका घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनका बारेमा कुनै दिन खुलेर कुराकानी गरौला ।’ उनले आफू केही समय नबोल्ने पक्षमा भएपनि बोल्नैपर्ने अवस्था आएको बताए ।

‘म केही समय नबोलौँ भन्ने पक्षमा थिएँ । तर हिजो जसरी यहाँ अभिव्यक्तिहरू प्रस्तुत भए त्यसले मलाई केही कुरा भन्न बाध्य पार्‍यो र झस्काउन बाध्य पार्‍यो’, उनले भने, ‘मलाई थाहा छ असार १५ मा खुवाइएको दहीले केहीबेर मुख बन्द भएको होला तर लोकतन्त्रका हिमायती सांसदहरूको मुखमा दही जम्नेछैन कुनैदिन बोल्नुहुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us