काठमाण्डु, १४ साउन– महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय रिदम अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर अधिकारीको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन ।
शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेको डीएसपी जयसवारले जानकारी दिएका छन ।
उनको शव खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे दुई बजेतिर फेला परेको हो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।