त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

काठमाण्डु टुडे २०८१ साउन १३ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १३ साउन– सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार स्वदेश फिर्ता भएको छ । गत २८ असारमा त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।

लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिएका छन ।

शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने डा उप्रेतीले जानकारी दिएका छन । उनले भने, ‘भारतीय टोली फर्किए पनि हाम्रो टोलीले खोजी जारी नै राख्ने छ ।

खोजी कार्य टुंगिएको छैन, ‘अतिरिक्त प्रयास भइरहेको छ ।’ असार २८ गते चितवन महनगरपालिका–२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् । वीरगञ्जबाट  काठमाण्डुतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र  काठमाण्डुबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो ।

हराएका बस खोज्न भारतबाट आएको भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोलीसँगै नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली, सशस्त्र प्रहरीलगायत उद्धार तथा खोजीमा संलग्न थिए । तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् ।

दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us