दाङ, १४ साउन–दाङमा आइतबार गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
महेन्द्रनगरबाट सिमेन्ट लिन लमही आउँदै गरेको सुपप्र०१००१ख३३३७ नम्बरको गुडिरहेको खाली ट्रकमा पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– ९ चाउखोला नजिकै एक्कासि आगलागी भएको हो ।
दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले ट्रकको तारमा सर्ट भएर आगो लागेको जानकारी आएको बताए । केसीका अनुसार आगो निभाउने प्रयास गर्दा चालक कञ्चनपुर कृष्णनगर– २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् । ट्रकमा चालकसहित तीन जना थिए ।
ट्रकमा लागेको आगो लमही नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्रकको इञ्जिनसहित सबै भाग पूर्णतः जलेर नष्ट भएको छ ।