काठमाण्डु, १२ साउन– प्रधानमन्त्री केपी ओलीले आफूले भूत देखेको बताएका छन् ।
एमाले मुख्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा ओलीले गृह जिल्ला झापास्थित घर नजिकै भूतसँग आफ्नो जम्काभेट भएको कथा सुनाए । तर, भुतले मुसाको बच्चा नि तर्साउन नसक्ने उनको भनाइ थियो ।
ओलीले के भने ?
एकपल्ट मैले पनि भूत भेटेको थिएँ । खेतको छेउमा । म छक्क परें । मेरो घरभन्दा ५ मिनटजतिको पर होला । सधैं बेलुका म त्यो बाटो हिँड्थे । सधैं त्यही बाटो हिँडिरहेको बेलामा एकदिन मेरो अगाडि सेतो कपडा लगाएर भूत खडा भयो । मभन्दा निक्कै अग्लो । बाटैमा आएर छेकेरै उभियो । अचम्म लाग्यो यो भूत कसरी आयो ? मान्छे त यति अग्लो हुँदैन । त्यसबेलामा हामीहरु बाँसको डन्डी टेकेर हिँड्थ्यौं त्यसबेला ।
विभिन्न कुरा आइपर्नसक्छ राति भनेर । मैले बाटो छोड भनेर भूतले त टेरपुछार नै लाएन । यसो गर्दै मतिर पो ढल्किन खोज्छ । अनि मैले त्यही बाँसको डन्डाले बेसरी कसेर भूतलाई हानेको । भरे त त्यो काँसको झुप्पो रहेछ ।
फुलेको काँस । फुलैको काँस बाटैको छेउमा । तर, त्यो काँस मलाई उम्रिएदेखि थाहा छ । तर, त्यो दिन अचानक त्यसलाई भूत देखें ।