काठमाण्डु, ११ साउन– बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ ।
क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाण्डु मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिएकी छन । उनले भनिन्, ‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ ।
हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं ।’ शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।
उनलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । बिरामीका आगन्तुकलाई भेट्न दिइएको छैन । काठमाण्डुबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पु¥याइएको थियो ।