काठमाण्डु, ११ साउन– केहि दिन अधिमात्रै जुवाखालबाट पक्राउ परेका रसुवास्थित नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
प्रहरी वृत्त, बौद्धले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले बिहीबार अदालतमा मुद्दा दर्ता गराएको हो ।
मुद्दामा घलेसहित बूढानीलकण्ठका रमेश लामा, काठमाण्डु–६ का चीनकुमार गोले, राजु तामाङ, बूढानीलकण्ठका दिनेश सुनार, बौद्धका प्रवीण लामा, काठमाडौं–१४ का विष्णुकुमार दोङ, सुमन गोले, सिन्धुपाल्चोकका कविराज भनिने सुक्र सुनार र ऋतिक राउत प्रतिवादी रहेको स्रोतले जानकारी दिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी प्रभाग, कपनको टोलीले गाउँपालिका अध्यक्ष घलेको अढाइ तले घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।
५ साउनमा अपराह्न ३ बजेतिर घरमा पुगेको प्रहरी टोलीले नगद १ लाख ३६ हजार ५ सय रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने क्वाइन ३७ वटा र ६ बुक तास समेत बरामद गरेको थियो । उनी गएको निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।