काठमाण्डु,१० साउन– काँग्रेस र एमालेको आन्तरिक लफडाका कारण बिहीबार बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ हुन सकेन ।
बुधबार मुख्यमन्त्री नियुक्त काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले आफ्नो दल र एमालेबाट मन्त्रीहरु नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका थिए । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
दुई दलबीच काँग्रेसले बागमतीमा मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति शीर्ष नेतृत्व तहमा भएको थियो । लामाले बुधबार तीन र बिहीबार ४ गरी काँग्रेसका सात मन्त्री नियुक्त गरे । आफ्नै पार्टीभित्र र एमालेसँग समेत समन्वय नगरी लामाले एकलौटी मन्त्रीहरुको कार्यविभाजन तोकेपछि विवाद भएको हो । लामाले
बिहीबार काँग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री नियुक्त गरेका थिए ।
यसअघि उनले बुधबार कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र र मधुकुमार श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । लामाले प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, लामिछानेलाई आन्तरिक मामिला तथा कानून, महर्जनलाई युवा तथा खेलकुद र काफ्लेलाई सामजिक विकास, खड्कालाई खानेपानी, उर्जा तथा सिंचाई र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जम्मेवारी तोेकेका थिए । श्रेष्ठलाई हालका लागि विनाविभागीयमा राखेर पछि जिम्मेवारी दिने बताइएको छ । आफूलाई जिम्मेवारी नदिएको भन्दै उनले मन्त्री पद अस्वीकार गर्नेसम्मको चेतावनी दिएका छन् ।
त्यसमध्ये काफ्लेले जिम्मेवारीप्रति आपत्ति जनाउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेका छन् । काफ्लेले यसअघि काँग्रेस संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका थिए । उनले आर्थिक मामिला नपाए मन्त्री पद नै अस्वीकार गर्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री लामाले गरको कार्यविभाजनप्रति सरकारलाई समर्थन गरेको एमालेले पनि आपत्ति जनाएको छ । एमाले नेताहरु एकलौटी रुपमा कार्यविभाजन गरेको भन्दै सपथग्रहण समारोहबाट बाहिरिएका थिए । बुधबार तीन मन्त्री नियुक्त गरेको काँग्रेसले सहमतिविपरीत बिहीबार फेरि चारमन्त्री नियुक्त गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । आफ्नै दल र एमालेबाट चर्को विरोध भएपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुको सपथ रोकेका छन् ।
सपथका लागि मन्त्रीहरु दौरासुवाल लगाएर गएका थिए । उनीहरुलाई बधाई दिन खादा र माला बोकेर जानेहरु पनि धेरै थिए । उनीहरु खादा माला प्रदेश प्रमुखको कार्यालयमै छाडेर हिंडेका छन् ।