सौर्य एयरको जहाज दुर्घटनाः सांसदहरुले मागे प्रदीप अधिकारीको राजीनामा

काठमाण्डु टुडे २०८१ साउन १० गते २०:०५ मा प्रकाशित

काठमाण्डु, १० साउन– सांसदहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बिहीबार अधिकांश सांसद जहाज दुर्घटनाको कारण पत्ता लगाएर दुर्घटना न्यूनीकरण गर्न कुनै प्रयास नगरेको भन्दै अधिकारीमाथि खनिए । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेपछि मुलुकमा ७ भन्दा बढी ठूला हवाई दुर्घटना भएको सांसदहरुको भनाइ थियो ।

पछिल्लो १९ महिनामा पटकपटक हवाई सुरक्षाको क्षेत्रमा भएको कामको प्रगति विवरण माग्दा उपलब्ध नगराएकामा अधिकारीप्रति रोष प्रकट गरे । हवाई दुर्घटना रोक्न र युरोपेली संघको कालोसूचीबाट हटाउन कुनै सुधार नगरेकाले अधिकारीले नैतिक रुपमा जिम्मेवारीमा बस्न नमिल्ने तर्क सांसदहरुको छ ।

कांग्रेस सांसद उदयसमशेर जबराले महानिर्देशक पअधिकारीले आफ्नो कार्यकाल आरम्भ भएदेखि हालसम्मका ७ वटा हवाई दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले अधिकारी प्राधिकरणको महानिर्देशक भएपछिका ७ हवाई दुर्घटनामा १ सय १८ जनाको ज्यान गएको भन्दै त्यसको जिम्मेवारी उनले लिनुपर्ने उल्लेख गरे ।

सांसदहरुको चर्को आलोचनापछि अधिकारीले दुर्घटनाको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए । अधिकारीले बुधबार भएको सौर्य एयरको जहाज दुर्घटना अध्ययन गर्न मन्त्रिपरिषदले समिति गठन गरेको भन्दै उक्त समितिले जसलाई दोषी औंल्याउँछ उही जिम्मेवार हुने तर्क गरे ।

मर्मतका लागि पोखरा जाँदै गरेको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्ने बित्तिकै अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार १९ मध्ये एकै परिवारका तीनसहित १८ जनाको मृत्यु भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us