काठमाण्डु, १० साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने दाबी गरेका छन । संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको उनको दाबी छ ।
तर अहिले त्यता जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिनझ, उनले भने । आज बिहिबार हेटौंडामा युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले देशमा युवालाई ठीक ढंगले प्रयोग गर्नुपर्ने पनि बताएका छन ।
चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताएका छन ।
गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उनले बताएका छन । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेजहरू खाली हुँदै जाने खतरा बढेको बताए । उनले युवाहरूलाई सीप सिकाउँदै स्वरोजगार र रोजगारी प्रदान गरेर युवाहरूलाई स्वदेशमै टिकाउनु अपरिहार्य भएको धारणा राखे ।