काठमाण्डु, १० साउन– आज (बिहीबार) बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको छ ।
विषयवस्तु (मुद्दा) मा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि किराती आक्रोशित पोखेका हुन । पूर्वमन्त्री किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै थिए । त्यतिबेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन आग्रह गरे ।
‘माननीयज्यू विषयवस्तुमा केन्द्रित हुँदै टेक्निकल पक्षमा विचार राख्न र समय छोट्याउन आग्रह गर्दछु ’ सभापति यादवले आग्रह गरेका थिए । यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए ।
‘सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु ?, उनले प्रश्न गर्दै भने, म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’ थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका छन् ।