काठमाण्डु, १० साउन– आज बिहिबार संसदीय समितिको बैठकमा सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न गरेका छन ।
अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरेका छन ।
नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटना हुने गरेको छ । सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन् ।
यसमा विदेशी जहाज समेत ८ वटा परेका छन । आन्तरिक त सबै जसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन्, जबराले भने, प्राधिकरणमा तपाईँकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् ।
यसको जिम्मेवारी लिनुपर्दैन रु दोष जति सधैँ अरूलाई नै लगाउने ?’ उनले थप प्रश्न गरे । अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफै राजीनामा दिनुपर्थ्यो कि त सरकारले हटाउँथ्यो ।
प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको सांसद जबराले संसदीय समिति राखेका छन । सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग समेत जबराले बताएका छन ।