काठमाण्डु, १० साउन– जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनले भौतिक कारबाहीको धम्की दिएको छ ।
संगठनको सचिवालय सचिव बताउने कपिल सीले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएको खुलेको छ । नेपाल पत्रकार महासंघका अनुसार साउन ८ गते मंगलबार बिहान सीले मोबाइलबाट फोन गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराएका छन ।
धम्कीका क्रममा निज व्यक्तिले ‘प्रधानसम्पादक श्रेष्ठ र उनकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएको महासंघले जानकारी दिएको छ ।
महासंघको विज्ञप्तिमा भनिएको छ ‘सोही दिन दिउँसो सानेपाको धोबिघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित आएका एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यालयका रहेका सबै कर्मचारीलाई धम्क्याएर ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ ।’
समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र संवादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको आपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार भएको महासंघको ठहर छ ।