प्रिजाले साथीलाई भनेकी थिइन्, मलाई जानै मन छैन, जान्न भन्दा श्रीमान रिसाउनुभयो

काठमाण्डु टुडे २०८१ साउन ९ गते २०:१९ मा प्रकाशित

काठमाण्डु, ९ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको ज्यान गयो ।

एयरलाइन्सका इन्जिनियर मनुराज शर्मा, उनकी श्रीमती प्रिजा र उनीहरुका नाबालक छोरा अधिराजको दुर्घटनामा निधन भएको हो । प्रिजा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत थिइन् । ऊर्जा मन्त्रालयमै कार्यरत प्रिजाकी साथी निर्मला पौडेलका अनुसार उनले पोखरा जान खासै मन गरेकी थिइनन् ।

‘जहाज मर्मतका लागि जाँदैछ । यात्रुहरु कोही हुँदैन । हामी स्टाफहरु मात्र छौं । पोखरा गएर आऊँ भन्नुभएको छ । तर, मलाई जान मैन छैनभन्दा रिसाउनुभयो । म भोलि जान्छु होला’, निर्मालालाई मंगलबार मन्त्रालयमा प्रिजाले भनेकी थिइन् ।

निर्मलाका अनुसार मिलनसार स्वभावकी प्रिजा मन्त्रालयमा सबैकी प्यारी थिइन् । ‘नजाऔं भने रिसाउनुहुन्छ भनेर जाँदैछु भनेकी थिई’, निर्मलाले भनिन्, ‘मलाई त घटना भएको पत्याउनै गाह्रो भइरहेको छ । फर्किएर आउँछिन् कि जस्तो मात्र लागिरहन्छ’, उनले भनिन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाण्डुबाट पोखरा उडेको सौर्यको ९–एन–एएमईरसिआरजे–२०० कलसाइनको जहाज धावन मात्र छाडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा चालक दलका सदस्यसहित १९ जना सवार रहेकामा १८ जनाको ज्यान भएको छ । क्याप्टेन मनिष शाक्यको भने घाइते अवस्थामा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us