काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
सौर्यको ९ एन–एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः १५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।
उनकाअनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन । दुर्घटनामा परेका सौर्य एयरलाइन्समा चालक दलका दुई जना सदस्यसहित १९ जना रहेको खुलेको एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
‘उनीहरू सबै सौर्य एयरलाइन्सकै कर्मचारी भएको बुझिएको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ।’