काठमाण्डु, ८ साउन– बागमती प्रदेशमा कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । आज मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिएका छन ।
प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको उनले जानकारी दिएका छन ।
बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ । यसअघि मंगलबार बिहान एमालेले आर्थिक मामिला र कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको थियो ।