काठमाण्डु, ८ साउन– प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समिति र विषयगत समितिका सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची छ । यस्तै प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूको प्रश्नोत्तर समेत हुने कार्यसूची छ ।
आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।