संसदमा रिसाए प्रधानमन्त्री, जथाभावी नबोल्न चेतावनी

काठमाण्डु टुडे २०८१ साउन ७ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, ७ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन ।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरेका हुन् ।

त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको आरोप लगाएका थिए । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै उनले भनेका थिए, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो ।

सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने‘।’ दाहाल बोल्दाबोल्दै समय सकियो । शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरेका हुन । डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको ओलीले बताएका छन ।

‘विवाद टुंग्याउनुपर्छ, सरकारले पाउनुपर्ने रकम असुल गर्नुपर्छ’ उनले भने, ‘जुन विद्युत उपभोग गरेका छन्, त्यसको तिर्नुपर्छ । जुन प्रयोग गरेका छैनन्, त्यो तिर्न पर्दैन । मैले भनेको त्यो हो ।’ यो आजको नभई ९र१० वर्ष अगाडिदेखिकै विवाद भएको र बेलाबेला लाइन काट्ने र जोडिने भइरहेको भन्दै उनले भने, ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन, बेठिक खालका सेटिङ र विभिन्न खालका तन्त्रका पछाडि कुद्नु पनि छैन ।’ ६० वर्ष लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको र बाँकी जीवन पनि त्यसलाई कायम राख्ने उनले बताए ।

हिजो पनि आफूले यही मत राखेको भन्दै उनले भने, ‘हिजो हुनुहुन्थ्यो भने रेकर्ड सुनेर कन्फर्म भएर कुरा गर्नु बान्छनीय हुन्छ । हामी गरिमामय संसदमा छौं ।’ आफू प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुनसक्ने उनले बताए ।

‘कसैलाई मर्का पनि परेको हुनसक्छ, यो त दलिय व्यवस्था हो,’ माओवादीतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक प्रश्नहरु राजनीतिक हिसाबले अगाडि बढाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us