लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिन्छ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ७ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, ७ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक संयन्त्रबाट समाधान गर्ने समझदारी भएको बताएका छन ।

आज सोमबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले नेपाल–भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनर्स्थापनाको काम भइरहेको जानकारी दिएका हुन । उनले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद्, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएको पनि बताएका छन ।

उनले भने, ‘नेपालको संविधानको २०७७ असार ३ मा भएको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबिच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ ।

सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ ।’ उनले उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबिच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको बताए ।

त्यसक्रममा उनले गत २०८० साल पुस १९ मा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा समेत सिमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us