काठमाण्डु, ७ साउन– एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले संसदिय दलका उप–नेता चेतनारायण आचार्यलाई बनाउने भएको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’
आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । कांग्रेस नेता डिल्ली चौधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले जानकारी दिएका छन ।
संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले जानकारी दिएका छन । लुम्बिनी दाबी पेस गर्न एक घन्टा बाँकी रहँदा लीला गिरीको नाममा टिपेक्स लागेको हो ।
आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए। सोमबार बिहानसम्म पनि लीला गिरी नै मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो। एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै थिए ।
तर अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले लीला गिरीको नाममा टिपेक्स लागेको छ । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको बताए ।
कँडेलले अन्तिम समयमा किन लीला गिरीको नाम हटाएर चेतनारायण आचार्यको नाम सिफारिस गरियो भन्ने आफूलाई जानकारी नभएको जानकारी दिए । बिहानसम्म एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले सञ्चारमाध्यमहरूलाई लीला गिरीका नाममा दाबी पेस गर्ने गरी तयारी गरेको बताएका थिए ।
तर अचानक सोमबार सवा ११ बजे नाम परिवर्तन भएको उनले जानकारी पाए। अर्घाखाँची– १ को (१) बाट निर्वाचिन आचार्य लुम्बिनी प्रदेशसभामा संसदीय दलका उपनेता हुन्।