जनताले अर्को जंगबहादुर खोजेका होइनन्: माधव नेपाल

काठमाण्डु टुडे २०८१ साउन ६ गते १७:११ मा प्रकाशित

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले शासन होइन, जनता बलियो बनाउनुपर्ने पनि बताएका छन ।

शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने भन्दै उनले भने, ‘कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै शक्तिको अधिक भोग जाग्छ ।’ एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने, ‘स्वतन्त्र र स्वायत्त रुपमा चलेका संस्थालाई किन आफू मातहतमा ल्याइन्छ ? त्यसलाई कज्याउने रहर किन जाग्छ रु बुझ्नेलाई इशारा काफी छ ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ओलीलाई शक्तिमा फर्काउन मद्दत गरेकोमा पुछताउने दिन आउन सक्नेतर्फ सचेत गराएका छन ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यस्तो प्रवृत्तिलाई शक्तिमा फर्किन हौस्याउने साथीलाई भन्न चाहन्छु, भोलि पछुताउनु नपरोस् ।’ भूराजनीतिक संवेदनशीलता भएको र बहुलतायुक्त समाजमा निर्वाचित नै भए पनि एउटा व्यक्तिको स्वेच्छाचारीता सम्भव नभएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us